काठमाडौ १६ फागुन ।  ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधनभएका मध्ये बाँकी तीनजनाको शव पनि सुकेटार विमानस्थल ल्याइएको छ । बिहान७ः४२ मा सेनाको हेलिकप्टरबाट बाँकी शव ल्याइएको हो । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सात मध्ये चार शव हिजै सुकेटार विमानस्थल ल्याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित विमानमा सवार सातजनाको निधन भएको थियो। नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टर बाट सुकेटार विमानस्थल ल्याइएको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार खराब मौसमका कारण अन्य तीन शव हिजो ल्याउन सकिएको थिएन । एयर डाइनेस्टीको एएस ३५० हेलिकप्टर हिजो दिउँसो साढे एकबजे दुर्घटनामा परेको हो । तेह्रथुमको चुहानडाँडामा विमानस्थलको अवलोकन गरेर पाथीभरा गएको हेलिकप्टर हिजो दिउँसो १२ बजेर ५५ मिनेटमा पाथीभरा मन्दिर नजिकै अवतरण गरेको थियो । मन्त्री सहितको टोली हेलिकप्टरबाट झर्दा मन्दिर क्षेत्रमा बाक्लो हिमपात भइरहेको थियो । हिमपातकैबीचपाथीभरा मन्दिरको दर्शन र पूजापनि गरेर साढे १ बजे टोली फर्किको मन्दिरका मुख्य पुजारी डिल्ली आचार्यको भनाइ छ । त्यस लगत्तै फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरान स्थित तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना भएको हो ।सबै शव आजै काठमाडौं ल्याउने तयारी छ । ताप्लेजुङमा १३ वर्षको बीचमा दुईवटा ठूला हेलिकप्टर दुर्घटना भएका छन् । २०६३ साल असोज ७ गते लेलेपको फलेमा भएको हेलिकप्टर दुर्घटनाको झल्को दिनेगरी हिजो अर्को दुःखद् दुर्घटना भएको हो । १३ वर्षअघि भएको उक्त दुर्घटनामा तत्कालिन वन राज्य मन्त्री गोपाल राई र उहाँकी पत्नी मीना रार्इ सहित २४ जनाको मृत्यु भएको थियो ।

Facebook Comments Box