चितवन १२ फागुन । रत्ननगर नगरपालिकाले सीमान्तकृत मुसहर समुदायको आवास व्यवस्थापन सुरु गरेको छ । आर्थिक अभावका कारण झुपडीमा बस्दै बस्दै आएका मुसहरहरुलाई नगरपालिकाले आवास निर्माणको काम सुरु गरेको हो । मुसहरको घर निर्माणको लागि नगरपालिकाले ६० लाखको कोष निर्माण गरेको छ । नगरपालिकाको ३० लाख र लुमन्ती आवासका लागि सहयोग समुहको ३० लाख गरी ६० लाखको कोष बनाइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । सोही कोषबाट ६ प्रतिशत व्याजदरमा ऋण लिएर रत्ननगर ८ चित्रसारीका मुसहर समुदायले व्यवस्थित आवास निर्माण गरेका छन । मुसहर बस्तीमा २२ घरधुरीले पक्की घर बनाएका छन । घर बनाउन लिएको ऋण तिर्न उनीहरुलाई हतार गर्नु पर्दैन मेयर वनले भने विस्तारै कमाएर पैसा तिर्ने व्यवस्था मिलाइएको छ । ज्याला मजदुरी गरेर कमाएको पैसा बचाएर साँवा र व्याज तिर्ने व्यवस्था मिलाइएको मेयर वनले बताए । सोही ऋण तिर्न सजिलो होस भनेर सुकुमवासी महिलाहरुले स्थापना गरेको आकृति महिला बचत तथा ऋण सहकारी संस्थामा कमाएको पैसा बचत गर्ने व्यवस्था मिलाइएको छ । १५ बर्ष अघि सम्म खोलाको किनारमा बसोवास गर्ने यो समुदायले अहिले गाउँको विचमा पक्की घर बनाएका हुन । रत्ननगर ८ चित्रसारीको बस्तीमा मुसहर समुदायले दुई तले पक्की घर बनाएका छन । परिवार पाल्न र घर बनाउन लिएको ऋण तिर्न श्रीमान श्रीमतिले कस्सिएर पैसा कमाउन लागि पर्ने गरेको माझी मुसहर टोल विकास संस्थाकी अध्यक्ष बासमती माझीले बताइन । पूर्खा देखि बस्दै आएको झुप्रो घर हटाउदै छौं उनले भनिन् धेरैले पक्की घर बनाइसके अब दुई चार जनाको मात्र घर बनाउन बाँकी छ । नगरपालिका र लुमन्तीले सुरु गरेको कामले मुसहर समुदायको जीवनमा परिर्वतन आएको उनले बताइन । लुमन्ती आवासका लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक सिंह लामाले रत्ननगरका मुसहर समुदाय रुपान्तरणको बाटोमा अगाडि बढिसकेको बताए । मेयर वनले सीमान्तकृत मुसहर समुदायको जीवन स्तर उकास्न आवास निर्माण र आयआर्जनको काम भइरहेको बताए । आवास व्यवस्थित गर्न कोष निर्माण र बस्ती व्यवस्थित गर्न वडागत बजेटबाट काम सुरु गरिएको उनले बताए । यता रत्ननगर ७ सिसुवार बस्तीमा हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठान र रोटरी क्लवले मुसहरलाई १२ वटा घर र सोही वडाको मालपुर बस्तीमा सपना भिलेज सोसल इम्प्याक्टको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लगानीमा ४ वटा घर निर्माण गरिएको छ ।

Facebook Comments Box