प्रहरी र तस्करबीच गोली हानाहान, ३ तस्कर पक्राउ

विद्यानन्द राम

राजविराज, १९ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच शुक्रबार मध्यराति झडप भएको छ । झडपका क्रममा दोहोरो गोली फायरिङ समेत भएको छ ।

भारततर्फ निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच झडप भएको हो । प्रहरीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले बताउनुभयो ।

गाँजासहित विहार राज्यको सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई पक्राउ परेका छन् । तस्करीमा संलग्न अन्य व्यक्ति भने फरार भएको जनाइएको छ ।

नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको एसपी थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →