सौराहा १० माघ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले यही माघ २८ गतेबाट सौराहा फुड फेस्टिबलको आयोजना गर्ने भएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबल यस वर्ष १३ औं संस्करणको रुपमा हुदैछ ।

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्ननगर नगरपालिका–७ को सिस्वार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको हो । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने भएको छ ।

गिरीका अनुसार फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सौराहामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । एक सय दश होटल रहेको सौराहामा करीब ६० रेष्टुरेन्ट छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ ।

Facebook Comments Box