काठमाडौ २ माघ । समायोजनमा जान चाहने कर्मचारीले फारम भर्ने आज अन्तिम दिन । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अहिलेसम्म ७३ हजारभन्दा बढी कर्मचारीले अनलाइन फाराम भरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले समायोजनमा जान चाहने कर्मचारीका लागि फारम भर्न २१ दिनको समय दिएको थियो । मन्त्रालयका अनुसार आज राती १२ बजेसम्म कर्मचारीले फारम भनै सक्नेछन् । समायोजन फाराम भर्ने कर्मचारीको संख्या आजसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले सीआईएनसँग बताउनुभयो । ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएका उहाँको भनाइ छ । अध्यादेशले वृत्तिविकास रोकेको भन्दै आन्दोलित भएका कर्मचारीलाई सरकारले संघीय निजामती कर्मचारी ऐनमा उनीहरुको माग समेटिने घोषणा गरेपछि कर्मचारी समायोजनमा जान तयार भएका हुन् । मन्त्रालयका अनुसार परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वतः संघीय सरकारमा रहने भएकाले उनीहरू समायोजन प्रक्रियामा जानु पर्दैन ।यसैबीच,स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी नै परिचालन गर्नु परेको छ । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

Facebook Comments Box