चितवन , ४ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा पुस ११ गतेबाट सुरु हुने चितवन हात्ती महोत्सको तयारी तीब्र पारिएको छ । महोत्सव सूरु हुने समय नजिकिदै गर्दा आयोजक क्षेत्रीय होटल संघ सौराहा,चितवनले तयारीलाई तीब्र पारेको हो ।
महोत्सव अन्तर्गत स्थान व्यवस्थापन,प्रचारप्रसार,हात्तीलाई अभ्यास लगायत अन्य आन्तरिक तयारी भइरहेको संघले जनाएको छ । चितवनको पर्यटन प्रर्बद्धनका लागि हरेक बर्ष हुने सो महोत्सव यस बर्ष पन्ध्रौँ सस्करण हो ।
। महोत्सव अन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता,हात्तीहरुको वनभोज,हात्ती पोलो,हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती फाष्टवाकमा २०,पोलोमा ४ टिम,फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने अध्यक्ष घिमिरेले जानकारी दिए ।
यस बर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी समावेस गरिएको छ । देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्टिय तथा अन्तराष्टिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
बामाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गते सम्म महोत्सव सञ्चालन हुने छ । प्रतियोगितामा सहभागिता जनाउने हात्तीहरु अहिले अभ्यासमा व्यस्त छन ।
खेललाई रोमाञ्चक बनाउन हात्ती र हात्तीका छावाहरुलाई अभ्यास गराइएको संघका प्रथम उपाध्यक्ष एवम महोत्सवका प्रबक्ता दीपक भट्टराईले बताए । महोत्सवको उद्घाटनको राष्टपति विद्यादेवी भण्डारी वाट हुने निश्चत भएको छ ।

Facebook Comments Box