‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनी हङ्गकङ्गमा अभियान चलाउदै आकाश

शिशिर सिंखडा

चितवन, १५ कार्तिक । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा स्थायी घर भएका ३१ वर्षीय आकाश बञ्जारा हाल हङ्गकङ्गमा बस्दछन् । विगत ४ वर्षदेखि हङ्गकङ्ग बस्दै आएका उनी नेपालका हरेक घटना, गतिविधिको चासो दिइ रहन्छन् ।  विपद्मा परेकाहरुलाई सहारा बन्दै आएका आकाशले बुधबारबाट माधवपुरमा संचालित धनधान्याञ्चल महायज्ञमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापनार्थ रु १ लाख ११ हजार १ सय ११ उपलब्ध गराएका हुन् ।

बुबा गोविन्द बञ्जारा मार्फत् उनले सो रकम विद्यालयमा उपलब्ध गराएका थिए । आफैले पढेको स्कुलमा सहयोग गर्न पाउँदा खुशी लागेको टेलिफोनबाट उनले प्रतिक्रिया दिए । विपन्न वस्तीमा रहेको सो विद्यालयको अक्षयकोषमा सबैले मिलेर रकम बढाउन सके त्यस क्षेत्रका विभिन्न बस्तीका धेरैजना विद्यार्थीहरुलाई राहत हुने थियो, उनले भने ।

पूर्वी चितवनको रत्ननगर १५ माधवपुर स्थित आधारभूत विद्यालयमा संचालित महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् । सो महायज्ञ यही २० गतेसम्म जारी रहने छ । सो महायज्ञको उद्घाटनकै दिन उनले सो रकम उपलब्ध गराएका हुन् । आयोजकले आकाशका बुबा गोविन्द बञ्जारा, आमा रुकमिणी, श्रीमती तारा, छोरी आनवी र छोरा रिदमलाई हात्तीमा राखेर गाउँ समेत परिक्रमा गराएका थिए ।

यस अघि पनि आकाशले मंगलपुरको गामबेशी चेपाङ केन्द्रमा आश्रित विद्यार्थीहरुका लागि रु. २५ हजार र रत्ननगर २ का मुस्लिम बालबच्चाहरुका लागि ४५ हजार रुपैया खाद्यान्न किन्न सहयोग गरेका थिए । त्यस्तैगरी विन्ध्येश्वरी आधारभूत विद्यालय माधवपुरको सम्पूर्ण कक्षा कोठामा सिलिङ पंखा र सोही विद्यालयका चेपाङ विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा समेत उपलब्ध गराएका थिए । रत्ननगर १५ कै ब्लड क्यान्सर पिडित विद्यार्थी शिरिषा लामिछानेको उपचारको लागि रु. २० हजार, मृगौला पिडित काठमाडौ निवासी कर्ण मोक्तानलाई पनि उनले रु. १० हजार सहयोग गरेका थिए । उनले यसका अतिरिक्त विभिन्न क्षेत्रका बिरामी, असहाय एवम् विभिन्न संस्थाहरुलाई पनि सहयोग गरेका छन् । सर्लाहीका टुहुरा ४ जना विद्यार्थीहरु पढाउन उनले वार्षिक रुपमा आर्थिक सहयोग गरिरहेका छन् । उनले पठाएको आर्थिक सहयोगहरु रत्ननगर १५ का युवा समाजसेवी अमृत वस्तीले व्यवस्थापन गरिदिएका छन् ।

‘बुद्ध नेपालमा जन्मेका हुन’् भनी हङ्गकङ्गमा अभियान समेत चलाउँदै आएका युवा व्यवसायी बञ्जारा ह्याण्डिक्राफ्ट व्यवसायी हुन् । काठमाडौमा रहेको आकाश ह्याण्डिक्राफ्ट उनका बुबा गोविन्द, भाइहरु प्रकाश र विकाशले हेर्दै आएका छन् भने उनले भने हङ्गकङ्गमा बसेर सो व्यवसाय गर्दै आएका छन् । मध्यम परिवार जन्मिएका आकाशले आफूले आम्दानी गरेको रकमको ठूलो हिस्सा समाजसेवामा खर्च गर्दै आएको समेत बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →