नेपाली बिजनेस काउन्सिलको अध्यक्षमा पुनः सिद्धिकी निर्वाचित

युएई । युएईमा बसेर अन्तर्राष्ट्रियस्तरमा व्यापारिक सञ्जाल फैलाउन सफल नेपाली व्यावसायी डा। आसिफ अली सिद्दिकी नेपाली बिजनेस काउन्सिलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

यूएईलाई आधार बनाएर जापान, अमेरिका, हङकङ, सिंगापुर, भारत र पाकिस्तानलगायतका देशहरुमा व्युटी प्रोडक्टको व्यापार विस्तार गर्दै आइरहेका सिद्दिकीलाई काउन्सिलको सोमबार सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा उमेशकुमार न्यौपाने र नेत्र शर्मालाई चयन गरेको छ । निवर्तमान उपाध्यक्ष शर्मिला पराजुलीलाई नेपाल सरकारले ओमनको राजदूत नियुक्ति गरेपछि रिक्त पदमा दुई सफल व्यावसायीलाई नयाँ जिम्मेवारी दिइएको हो ।

दुबईको रमदास्थित जुमेरा होटलमा सम्पन्न साधारणसभाको विशिष्ठ अतिथि दुबई चेम्बरका इकोनोमिक डिपार्ट सिनियर म्यानेजर मोहम्मद रसुल रहेका थिए ।

काउन्सिलले एक वर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष सिद्दिकीले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्बद्धन गर्न काउन्सिल प्रयत्नरत रहेको बताए ।

साधारणसभाले रिक्त पदपूर्ति गर्नुका साथै विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । साधारणसभाले रिक्त रहेका केही पदहरुमा पदोन्नति तथा नयाँ सदस्यहरुलाई समावेश गराएको हो । सभाले एकेन्द्र  थापाको संयोजकत्वमा सदस्यता वितरण समिति गठन गरेको छ । जसको सदस्यहरुमा दिपक पौडेल, नेत्र शर्मा, ईश्वर उपाध्याय र बालकृष्ण खड्का रहेका छन् । त्यसैगरी नेत्र शर्माको संयोजकत्वमा लोकेन्द्र  बम र हरिस शर्मा सदस्य रहने गरी इभेन्ट समिति गठन गरेको छ ।

काउन्सिलका अध्यक्ष डा। सिद्दिकीको संयोजकत्वमा चन्द्रप्रसाद सापकोटा, मोहन शर्मा, उमेशकुमार न्यौपाने, सालिक सुवेदी, लक्ष्मी शर्मा र सूर्य गिरी सदस्य रहने गरी अन्तर्राष्ट्रिय व्यापार प्रर्बद्धन समिति समेत गठन गरेको छ । महासचिव दिपकराज पौडेलको संयोजकत्वमा मिडिया तथा प्रोटोकोल समिति गठन गरेको छ । यस समितिको सदस्यहरुमा क्रमशः त्रिलोचन कोइराला, सालिक सुवेदी, पुष्कर शर्मा र नारायण अधिकारी रहेको काउन्सिलले जनाएको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको लोकप्रिय गन्तव्य मुलुक युएईमा नेपाली व्यावसायीहरुको संख्या बढिरहेको छ । रेस्टुरेन्ट, क्याफ्टेरिया, ब्युटीपार्लर, ग्रोसरी, ट्राभल एजेन्सी, निर्माण तथा क्लिनिङ कम्पनी, कन्सल्ट्यान्सी जस्ता क्षेत्रमा करिब ४ सय नेपालीले आफैं लगानी गरी व्यावसायिक सफलता हासिल गरिरहेका छन् । नेपाली बिजनेस काउन्सिल यिनै व्यावसाय गर्ने नेपालीहरुको व्यावसायिक हित तथा सहकार्यका लागि युएईमा स्थापना भएको पहिलो सरकारी मान्यता प्राप्त आधिकारिक निकाय हो ।

तपाईको प्रतिक्रिया दिनुहोस