रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० को वडा कार्यालय भवनको मंगलवार उद्घाटन गरिएको छ । अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न भवनको मेयर नारायण वनले उद्घाटन गरेका हुन । मेयर वनले भवन उद्घाटन गरे लगतै वडाध्यक्षको कार्यकक्षको उपमेयर विमला दुवाडी र प्रशासनिक कक्षको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए ।

सो अबसरमा मेयर वनले १० नम्बर वडा कार्यालयको भवनलाई नेपालकै पहिलो अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न बनाइएको भन्दै नागरिक प्रतिको उत्तरदायित्व बहन गर्ने विषयमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे । नगरबासीलाई प्रदान गरिने सेवालाई सरल र सहज बनाउदै कृषि,शिक्षा र पर्यटनलाई आधार बनाएर नगरको विकास गरिने उनको भनाई छ । उपमेयर विमला दुवाडीले अबको १४ महिना भित्र सबै वडाले आफ्नै भवनबाट सेवा सुरु गर्ने बताइन । १६ वटा वडा मध्ये बाकी तीन वटा वडाले पनि छिट्टै आफ्नै भवनबाट सेवा सुरु गर्ने तयारी गरेको उनले बताइन ।

कार्यक्रममा वडा भित्रका पूर्व जनप्रतिनिधिहरु नारायण महतो लगायतलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति र नगरपालिकाको सयुक्त ५० लाख र नगरपालिकाको २८ लाख गरी ७८ लाखको लगानीमा अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । वडाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,वडा सदस्य कमलबहादुर घिमिरे,कैलाश टोल विकास संस्थाका अध्यक्ष काशिनाथ शर्मा लगायतले मन्तव्य राखेका थिए । वडा सचिव पुष्पराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments Box