चितवनमा मतदाता शिक्षा शुरु, गाउँगाउँ स्वयंसेवक परिचालन

चितवन, वैशाख १ –

 स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले आजदेखि मतदाता शिक्षा सुरु गरेको छ ।

चैत २२ गतेदेखि जिल्लाका तीन सय ७६ मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर आजदेखि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।

 उहाँका अनुसार जिल्लामा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेवीका र शिशु शिक्षिकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालन गरिएको हो । जिल्लामा हरेक मतदान केन्द्रमा एक जना पर्ने गरी तीन सय ७६ मतदान केन्द्रमा तीन सय ७६ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुले गाउँगाउँमा मतदान गर्ने तरिकासहित मतदातालाई मताधिकारबारे सुसूचित गराउने छन् ।

मतदाता शिक्षा कार्यक्रमको अभियान भने बदर मत कम गराउन र मतदान प्रतिशत बढाउनु मुख्य लक्ष्य रहेको ढकालले बताउनुभयो । चितवनमा आजदेखि २८ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।

मतदाता शिक्षा दिन आफू तयार रहेको बताउँदै भरतपुर– ४ बेलचोककी स्वयंसेवक सुनिता शर्मा मतदातालाई सुसूचित बनाउन पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताए ।

अर्काे मतदाता शिक्षा स्वयंसेवक कृति कुँवर गाउँगाउँमा पुगेर मतदाताले मतदान प्रक्रियामा अवलम्बन गर्नुपर्ने कुरा सिकाउन आफू सक्रिय भएको जानकारी दिए ।

यसवर्ष दलितसहित दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था भएकाले मतदातालाई सो विषयमा समेत सुसूचित गराउने कार्यालयले जनाएको छ ।

एक मतदाताले यसपटक सात वटा भोट हाल्नुपर्ने जिल्ला निर्वाचन अधिकारी ढकाल बताउनुहुन्छ । प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, महिला सदस्य दुई र खुला सदस्य दुई जनाका लागि मतदान हुन्छ । रासस

तपाईको प्रतिक्रिया दिनुहोस