कभर्डहल निर्माण कार्य अलपत्र

अमरगढी, १६ कात्तिक/जिल्लामा एकमात्रै कभर्डहल निर्माणको काम अलपत्र परेको छ । बजेट अभाव हुँदा जिल्ला सदरमुकाम खलङ्गाको टँुडिखेल छेउमा निर्माणाधीन सेमी कभर्डहलको काम अलपत्र परेको हो । गत आर्थिक वर्षदेखि निर्माण शुरु थालिएको सो निर्माणका लागि चालू आवमा रकम विनियोजन नगरिएपछि निर्माण थालनीपछि काम अलपत्र परेको हो । कर्भडहल नहुँदा वर्षात्को समयमा भलिबलदेखि अन्य ‘इन्डोर’ खेलकूद प्रतियोगिता शून्य हुँदै आएका छन् । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत साउन महिनामा वर्षात्का कारण भत्किएको थियो । गत आवमा राष्ट्रिय खेलकूद परिषद्को करीब रु १० लाख बजेटले निर्माणको काम शुरुआत गरिएको भएपनि चालू आवमा भने निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताउनुभयो । पुरानो जीर्ण अवस्थामा रहेको टिटी कभर्डहल गत वर्षको वर्षात्ले भत्किए पछि सेमि कभर्डहल निर्माण गर्ने योजनाअनुसार गत वर्ष भत्केको भवनका ढुङ्गा, ट्रष्ट, जस्तापाता हटाई एउटा भागमा खम्बा हाल्ने काम मात्रै भयो । उहाँले भन्नुभयो, “यस वर्ष आवश्यक रकम विनियोजन नगरिँदा शुरुआत गरिएको काम पनि रोकिएको छ, निर्माण कार्य पनि अलपत्र नै परेको छ ।” हलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किएपछि एक वर्षयता भाडाको घरमा कार्यालय सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेलकूदका प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको जिल्ला खेलकूद विकास समिति भलिबल प्रशिक्षक नरेश थापाले बताउनुभयो । अहिले ‘इन्डोरगेम’ सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षात्को समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको भलिबल प्रशिक्षक थापाले बताउनुभयो । (रासस) ः

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →