गैंडाकोटका सुकुम्बासीको उद्घोषः बासको ग्यारेन्टी गर्नेलाई मात्र भोट

हिमा अर्याल,
नवलपरासी, वैशाख १–
नवलपरासीको गैंडाकोट नगरपालिका भित्रका भुमीहिन सुकुम्बासीहरुले आफ्नो बासको ग्यारेन्टी गर्न माग गरेका छन् । अबको स्थानीय तहको निर्वाचनमा भुमिहिन सुकुम्बासीहरुको माग र अधिकार बारे लिखित प्रतिवद्धता गर्ने दल आएमात्र आफुहरु भोट हाल्ने उनीहरुले बताएका हुन् । आज गैंडाकोट ८ मा स्थानीय तहको चुनावमा कस्ता व्यक्ति छनोट गर्ने भन्ने विषयमा भएको छलफल कार्यक्रममा सुकुम्बासिहरुले यस्तो माग गरेका हुन् ।
छलफलमा बोल्दै गैरी गाउँ भुमी अधिकार मञ्चका अध्यक्ष लक्ष्मी चौधरीले भुमिहिनको माग पुरा गर्ने सक्ने नेता छनोट गर्न सबैलाई आग्रह गर्नुभयो । भुमी अधिकार मञ्चका सल्लाहार लक्ष्मण पुरीले संविधानले दिएको बासको अधिकार भुमीहिन सुकुम्बासीलाई नदिए सम्म अबको स्थानीय चुनावमा भाग नलिने चेतावनी दिनुभयो । छलफलबाट बैशाखको १८ गते सोमबार काँग्रेसचोकको खेलकुद मैदानमा भुमी सभा गर्ने निर्णय समेत भएको भुमी अधिकार मञ्च गैंडाकोट नगर समितिको सचिव लालु खनालले जानकारी दिनुभयो ।

सचेतना गाउँ भुमी अधिकार मञ्चका अध्यक्ष लक्ष्मण विक, विपत व्यवस्थापन समिति गैंडाकोट–६ की कोषाध्यक्ष मनदेवि चापागाई खनाल, महिला अधिकार मञ्चको सदस्य तारा परियार, गैंडाकोट–२ को गाउँ भुमि अधिकार मञ्चका अध्यक्ष इन्द्रबहादुर विक, भुमि अधिकार मञ्चको पूर्व जिल्ला सचिव दलबहादुर थापा लगाएतले आफ्ना समस्या छलफलमा राख्दै सरकारले सीमा क्षेत्रमा भएको अतिक्रमणको विवादमा नेपालीको ज्यान जादा समेत जवाफ नदिने र बोल्न डाराउने गरेको तर सुकुम्बासिलाई बासको विषयमा बैठक राखि राखि विवाद झिक्ने गरेको आरोप लगाएका थिए ।
छलफलमा गैडाकोट नगरपालिकका १७ वटै गाविसका २ दर्जन बढि सुकुम्बासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नववर्ष २०७४को अवसरमा श’भकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रम राष्ट्रिय भुमी अधिकारमञ्च गैंडाकोट नगरसमितिको अध्यक्ष दिपक परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस