चितवनका मुसहरले पहिलो पटक हात्ती चढे

रत्ननगर १५ भदौं । पूर्वी चितवनको सौराहा नजिक मालपुरमा रहेका मुसहर समुदायले आइतवार हात्ती चढेका छन । विपन्न मुसहर समुदायले पहिलो पटक हात्ती चढ्ने मौका पाएका हुन । बाघमारा मध्यवर्ती सामुदायिक वनले युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहयोगमा मुसहर समुदायलाई हात्ती सफारी गराएको हो । वनको ३० औं स्थापना दिवसको अबसरमा समुहर समुदायलाई हात्ती सफारी गराइएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । मालपुर बस्तीका करिब ४० जना मुसहरलाई हात्ती चढाइएको हो । आर्थिक अभावका कारण अहिले सम्म हात्ती चढ्न नसकेका मुसहर समुदायलाई हात्ती सफारीको आनन्द दिलाउन सफारी गराइएको वनका अध्यक्ष तामाङको भनाई छ । सो समुदायिक वनले मुसहरहरुलाई वन प्रतिको निर्भरता हटाउन मुसहरहरुलाई सिलिण्डर ग्यास,सीपमुलक कार्यक्रम,शिक्षामा लगानी,स्वास्थ्य बीमा लगायतका मुसहर केन्द्रित कार्यक्रम गरिएको अध्यक्ष तामाङले बताए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले मुसहर र हात्ती बीचको सम्बन्ध रहेको भन्दै हात्ती जोगाउनुपर्छ भन्ने भावनाको विकास गर्न सफारी गराइएको बताए । २०४६ साल भदौं १५ गते स्थापना भएको सो सामुदायिक वनले पर्यापर्यटन मार्फत मनग्य आम्दानी गर्दै आएको छ । वनले गरेको आम्दानी संरक्षणसंगै सामुदायिक विकास,पर्यटन प्रर्बद्धन,उपभोक्ताको जीवन स्तर उकास्ने,शिक्षा र स्वास्थ्यमा लगानी गर्दैै आएको सचिव कृष्ण भट्टले जानकारी दिए । मानव वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणको लागि सो सामुदायिक वनले मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिसंगको सहकार्यमा निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगायन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →